कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश


काठमाडाैं – कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली मूलका उद्यमी भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेह शर्मा (खनाल) सहभागी भएका छन्। अन्तर्राष्ट्रिय घरपालुवा कुकुरका लागि बन्ने छुर्पी ब्रान्ड ‘डक्सी च्यू’का संस्थापक दम्पत्तीले रेड कार्पेटमार्फत जनावरप्रतिको माया, हेरचाह र जिम्मेवार पालनपोषणको सन्देश दिएका छन्।

मोरङको उर्लाबारी निवासी खनाल दम्पत्तीले आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’लाई प्रेम, वफादारी र आत्मीयताको प्रतीकका रूपमा आफ्ना पोशाकमा कढ़ाइ गरेर प्रस्तुत गरेका थिए। उनीहरूको उपस्थितिलाई घरपालुवा जनावरको कल्याण र पोषणसम्बन्धी विश्वव्यापी बहससँग जोडेर हेरिएको छ।

भूपेन्द्र खनालले आफूले लगाएको पहिरन भारतीय शैलीको मनका गाला, नेपाली भादगाउँले टोपी र पेरिसका डिजाइनर स्टीफन कार्लोसको कालो बुटको संयोजन रहेको बताए। उनका अनुसार यसले मिश्रित संस्कृति, मौलिक पहिचान र आफ्नो यात्राको कथा प्रस्तुत गर्ने प्रयास गरेको हो।

एक दशकअघि सामाजिक सञ्जाल विश्लेषण कम्पनी ‘सिम्प्लिफाई ३६०’ स्थापना गरेका खनाल पछिल्लो समय हिमाली छुर्पी उद्योगमा सक्रिय छन्। उनले सन् २०१५ मा स्नेह शर्मासँग मिलेर ‘डग्सी च्यू’ स्थापना गरेका थिए। कम्पनीले नेपाल र भारतका हिमाली भेगको दूधबाट तयार हुने प्राकृतिक छुर्पीलाई कुकुरका लागि स्वास्थ्यकर ‘हिमालयन याक च्यू’का रूपमा विश्वबजारमा पु¥याइरहेको छ।

कम्पनीका अनुसार हाल ‘डग्सी च्यू’ ३० भन्दा बढी देशमा विस्तार भइसकेको छ। वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्ने उक्त ब्रान्डले घरपालुवा जनावरका लागि प्राकृतिक र स्वस्थकर पोषणको अवधारणा अघि बढाइरहेको जनाएको छ।

सह–संस्थापक तथा सीएमओ स्नेह शर्माले कान्सजस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु आफूहरूका लागि विशेष अवसर भएको बताइन् । उनका अनुसार घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणसम्बन्धी विश्वव्यापी चेतना बढ्दै गइरहेको अवस्थामा हिमालयमा जन्मिएको ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनिनु गौरवको विषय हो। यसअघि वर्तमान प्रधानमन्त्री बालेन शाह पनि सन् २०२४ मा कान्स रेड कार्पेटमा सहभागी भएका थिए।