राजीव जैनको मेरा पिक आरोहणः नेपालको हिमाली पर्यटन प्रवर्द्धनमा योगदान 


काठमाडौं – एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृङ्खलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर/ २१,२४७ फिट) सफलतापूर्वक आरोहण गरेका छन्। यो उपलब्धिले व्यक्तिगत साहस र दृढताको उदाहरण प्रस्तुत गर्नुका साथै नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको छ।

उनको हिमाल यात्रा वैशाखदेखि काठमाडौंबाट लुक्लातर्फ प्रस्थानसँगै सुरु भएको थियो। त्यसपछि हिमाली बस्ती, दुर्गम पदमार्ग, हिमनदी र उच्च हिमाली भूभाग पार गर्दै वैशाख ११ मा बिहान करिब ६ः४५ बजे मेरा पिकको शिखरमा पुग्न सफल भएका थिए। एभरेस्ट क्षेत्रको महालंगुर हिमशृङ्खलामा पर्ने मेरा पिक विश्वका चर्चित ट्रेकिङ शिखरमध्ये एक मानिन्छ। यहाँबाट सगरमाथा, ल्होत्से, मकालु र छो ओयू हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। प्राकृतिक सौन्दर्य, साहसिक अनुभव र हिमाली संस्कृतिको अनुपम सङ्गमका कारण मेरा पिक स्वदेशी तथा विदेशी आरोहीमाझ लोकप्रिय गन्तव्य बनेको छ।

राजीव जैनले यो आरोहण अनुभवी पर्वतीय मार्गदर्शक तथा ‘लामा वाक्स’का राजेश लामाको नेतृत्वमा सम्पन्न गरेका छन्। हिमाली पदयात्रा तथा पर्वतारोहण क्षेत्रमा लामो अनुभव हासिल गरेका लामा नेपालका विभिन्न हिमाली रुटमा साहसिक अभियान सञ्चालन गर्दै आएका छन्।

५० वर्षका शाकाहारी जैन उच्च हिमाली क्षेत्रमा आवश्यक शारीरिक तथा मानसिक तयारी, अनुशासन र आत्मविश्वास भए कठिन आरोहण पनि सम्भव हुन्छ भन्ने सन्देश उनले आफ्नो सफलतामार्फत दिएका छन्।

यो अभियान केवल व्यक्तिगत उपलब्धिमा सीमित नभई नेपालको पर्यटन क्षेत्रका लागि पनि सकारात्मक संकेतका रूपमा हेरिएको छ । हिमाल, संस्कृति, स्थानीय आतिथ्य र साहसिक अनुभवको अनुपम संयोजनले नेपाललाई विश्वकै उत्कृष्ट ट्रेकिङ तथा पर्वतारोहण गन्तव्य बनाइरहेको सन्देश यस यात्राले पुनः उजागर गरेको छ।