सीआईबीले मागेपछि एनसेलले उपलब्ध गरायो स्मार्ट टेलिकमको उपकरण तथा टावर लिलाम सम्बन्धी कागजात 


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले स्मार्ट टेलिकमका उपकरण तथा टावर लिलाम सम्बन्धी कागजात उपलब्ध गराएको छ। सीआईबीले अनुसन्धानमा आवश्यक परेकोभन्दै माग गरेपछि एनसेलले आवश्यक कागजात उपलब्ध गराएको जानकारी दिएको छ।

कम्पनीका अनुसार दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमका उपकरण तथा टावरहरू लिलाम सम्बन्धी केही कागजात सीआईबीलाई बुझाएको हो। सीआईबीले पत्रमार्फत ती कागजातहरू मागेको कम्पनीले जनाएको छ। यतिबेला सीआईबीले स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गरिरहेको छ।

यही अनुसन्धानका क्रममा आवश्यक परेको कागजात पत्रमार्फत एनसेलसँग मागेको थियो। ‘एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा सदा झैँ कम्पनी सरकारी निकायहरूका काम कारबाहीमा आवश्यक सहयोग पुर्‍याउन पूर्ण रूपमा प्रतिबद्ध छ,’ सीआईबीले मागेबमोजिम कागजात बुझाएपछि एनसेलले भनेको छ।