काठमाडौं – सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन भन्दै कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचनामार्फत् राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाटै हटाउन सकिने चेतावनीसमेत दिएको छ।
नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयको प्रष्टोक्ति छ। निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ङ) लाई उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने’ कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।
सम्पूर्ण निजामती कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम अनुशासन र आचरणसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको निर्देशन छ। कुनै पनि राजनीतिक दलको सदस्यता लिने, भ्रातृ वा जनवर्गीय सङ्गठनमा आबद्ध हुने, राजनीतिक क्रियाकलापमा सक्रिय हुने वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीहरूमाथि कडा कारबाही गरिने सूचनामा चेतावनी दिइएको छ।
शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित सूचनामा निजामती कर्मचारीहरूको राजनीतिक संलग्नताले सार्वजनिक सेवा प्रवाहमा असर पर्ने उल्लेख छ।






About Us
प्रतिक्रिया