विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त


काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन्।

नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाही लाई सञ्चालक समितिमा समावेश गरिएको छ।

त्यस्तै, उपभोक्ताको तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त भएका छन्। प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फ प्रतिनिधित्व दलित समुदायको सहभागिता सम्भवतः पहिलोपटक भएको छ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो।

दीर्घायू कुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्। उनले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गरेका थिए। काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।

प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलगायतका कामलाई निरन्तरता दिने अपेक्षासहित श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ। नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए।