काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने निर्णय गरेसँगै महासंघले आफ्नो ऐक्यबद्धता जनाएको हो।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
महासंघले मन्त्रालयको परिपत्र अनुसार आफ्ना सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू र आबद्ध व्यवसायीहरूलाई सम्पूर्ण उद्योगी, पैठारीकर्ता, सप्लायर्स, थोक तथा खुद्रा विक्रेताहरूले आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न आग्रह गरेको छ।
महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आ–आफ्नो क्षेत्रका बजारमा मूल्यसूची राखिए/नराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रमका सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी–व्यवसायी मित्रहरूलाई सक्रियतापूर्वक सहभागी हुन समेत अनुरोध गरेको छ।






About Us
प्रतिक्रिया