नेपाल मेडिसिटीद्वारा सीएचआईएमई नेपाल कम्युनिटीको स्थापना, नेपाल अव विश्व डिजिटल स्वास्थ्य सञ्जालसँग जोडियो


काठमाडौं – नेपाल मेडिसिटी अस्पतालले नेपालमै पहिलो पटक कलेज अफ हेल्थकेयर इन्फर्मेसन म्यानेजमेन्ट (सीएचआईएमई) को बैठक आयोजना गर्दै नेपाललाई औपचारिक रूपमा सीएचआईएमई भारत शाखाको उपशाखाका रूपमा स्थापना गरेको छ। मे ८ मा आयोजित कार्यक्रममा नेपालका १५ वटा निजी तथा सरकारी अस्पतालका स्वास्थ्य सूचना प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।

सीएचआईएमई विश्वभर डिजिटल स्वास्थ्य नेतृत्व प्रवर्द्धन गर्ने प्रतिष्ठित गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्था हो। नेपालमा यसको विस्तारसँगै देशको स्वास्थ्य प्रणालीलाई आधुनिक, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको अस्पतालले जनाएको छ। नेपाल मेडिसिटी अस्पतालका प्रमुख डिजिटल तथा सूचना अधिकृत एवं सीएचआईएमई भारत बोर्ड सदस्य सुधाकर राईले सीएचआईएमईमा नेपालको सहभागिताले देशको स्वास्थ्य सूचना प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डसँग समायोजन गर्न ठूलो अवसर प्रदान गर्ने बताए।

उनका अनुसार नेपाली स्वास्थ्य सूचना प्रविधि विज्ञहरूले अब विश्वस्तरीय ज्ञान, नवीन प्रविधि तथा उत्कृष्ट अभ्यासमा प्रत्यक्ष पहुँच प्राप्त गर्नेछन्। बैठकमार्फत ‘सीएचआईएमई नेपाल समुदाय’को औपचारिक स्थापना गरिएको छ। यस सञ्जालले स्वास्थ्य सूचना व्यवस्थापनका अन्तर्राष्ट्रिय अभ्यास, डिजिटल स्वास्थ्य तथा साइबर सुरक्षा संरचना, दूरस्वास्थ्य सेवा मापदण्ड, नेतृत्व विकास, अन्तर्राष्ट्रिय प्रमाणीकरण तथा नीतिगत पैरवीका क्षेत्रमा सहकार्य गर्ने जनाइएको छ।

कार्यक्रममा सीएचआईएमई भारत बोर्डका प्रतिनिधि तथा भारतका विभिन्न अस्पतालका स्वास्थ्य सूचना प्रविधि विज्ञहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए। बोर्डले नेपालसँग सहकार्य गर्दै साझा नवप्रवर्तन, अन्तर्राष्ट्रिय अनुभव तथा विश्वस्तरीय मापदण्डमार्फत नेपालको डिजिटल स्वास्थ्य रूपान्तरणलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ।

यसैबीच, नेपाल मेडिसिटी अस्पतालले हालै भारतको हैदराबादमा आयोजित ‘अन्तर्राष्ट्रिय स्वास्थ्य संवाद– सूचना प्रविधिमार्फत स्वास्थ्य रूपान्तरण सम्मेलन’ मा ‘दूरस्वास्थ्य सेवामा उत्कृष्टता’ पुरस्कार समेत प्राप्त गरेको जनाएको छ। अस्पतालले टेलिमेडिसिन, टेलिआइसियु तथा स्मार्ट अस्पताल प्रणालीमार्फत दुर्गम क्षेत्रसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याएको योगदानका लागि उक्त सम्मान प्राप्त गरेको हो।

अस्पतालका अनुसार सीएचआईएमईको नेपालमा उपस्थितिले डिजिटल स्वास्थ्य रूपान्तरणलाई गति दिनुका साथै अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान, प्रमाणीकरण तथा नीतिगत समन्वयका नयाँ अवसर सिर्जना गर्नेछ।