प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा नवनिर्मित भवन उद्‌घाटन


काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय गढवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको उद्‍घाटन गरेका छन्। उनले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे। 

कार्यक्रममा कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गरे। उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार विकास, प्रशिक्षण र समुदायसँग समन्वय र सहकार्य बढाउनको लागि गरेको सहयोगको चर्चा गर्दै नवनिर्मित भवनलाई सफलतापूर्वक समयमै सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरू प्रति कृतज्ञता व्यक्त गरे। 

नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतीक भएको एवम् नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे। महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्त्वपूर्ण आधार सिर्जना गरेको बताउँदै नवनिर्मित भवनबाट प्रवाह हुने सेवा नागरिकमैत्री हुनुका साथै पीडा र अन्यायमा परेका व्यक्तिहरूको गुनासो सम्बोधन गर्न समेत सक्षम हुने बताए। 

नागरिकको समस्या प्रति थप संवेदनशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोली बचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्म अनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए।