काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधवार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। कार्यक्रममा महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गरे।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले स्रोत साधनको सीमितताको बाबजुद नागरिकहरू प्रतिको जिम्मेवारीको भावना, कामना तथा नागरिकहरूको अपार सहयोग र समर्थनले नागरिकहरू प्रति अझ उत्तरदायी भई काम गर्न प्रहरीलाई सधैँ उत्प्रेरित गरेको चर्चा गरे। यस नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्त्वपूर्ण आधार सिर्जना गरेको उनले बताए।
प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले नागरिकहरूले प्राप्त गर्ने प्रहरी सेवामा सहज र सुरक्षित पहुँच निर्माण गर्न मद्दत पुग्ने उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोली बचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्म अनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए। विगत लामो समयदेखि बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार विकास, प्रशिक्षण र समुदायसँग समन्वय र सहकार्य बढाउनको लागि सहयोग उपलब्ध गराउँदै आएको चर्चा समेत उनले गरे।
बेलायत सरकारको सहयोगमा कुल २ करोड ४१ लाख ४३ हजार ७ सय ५३ रुपैयाँ १२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो।



About Us
प्रतिक्रिया