प्रभु इन्स्योरेन्सले बोलायो ३० औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले?


काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई आगामि वैशाख ९ गते ३० औं वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड, प्रभु कम्प्लेक्समा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

उक्त साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार प्रस्तावित बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ को ०.४५७९ प्रतिशतले हुन आउने रकम ७७ लाख ८८ हजार ५८८ रुपैयाँ नगद लाभांश पारित गर्नेछ। त्यस्तै, आर्थिक वर्ष २०८२र०८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण गर्नेछ।

विषेश प्रस्ताव अन्र्तगत सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०८१/०८२ सम्मको बितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ८.७० प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने र बोनश शेयर बितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने जनाएको छ।

उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगाएत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू पारीत गर्नेछ।

कम्पनीको वार्षिक साधारणसभा तथा निर्वाचन प्रयोजनको लागि चैत्र २६ गते बिहिबार १ दिनको लागि कम्पनीको शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिनेछ। बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा कारोवार भई ७ दिनभित्र यस कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंले प्राप्त गरेको नामसारीको कागजातका आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन्।