जुम्लामा वैशाख २ गतेदेखि आर्थिक गणना


जुम्ला – आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ। आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन्।

आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण सङ्कलन गरिने छ।

आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जिल्लामा एक हजार ५६९ व्यापारिक प्रतिष्ठान, एक हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा छन्। यहाँका आठवटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी एक हजार ५८ उद्योग दर्ता छन्। गुठिचौर गाउँपालिकामा सबैभन्दा कम २१० उद्योग दर्ता छन्।

यसैगरी, कनकासुन्दरीमा ३७४, तिलामा ३५८, पातारासीमा ३०८, सिँजामा २९२, तातोपानीमा २६७ र हिमामा २११ प्रतिष्ठान रहेको आर्थिक गणना कार्यालय प्रमुख धामीले बताए। यसपटक जुम्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ।