काठमाडौं – नेपाल बीमा प्राधिकरणले म्याद सकिएको तीन महिनाभित्र नविकरणलाई निवेदन नदिए सर्भेयरको लाइसेन्स खारेज हुने व्यवस्था गरेको छ । बीमा सर्भेयरका लागी एक निर्देशन जारी गर्दै बीमा ऐन, २०७९ को दफा ९५ बमोजिम इजाजतपत्रको म्याद सकिएको अवधिदेखि तीन महिना भित्र इजाजतपत्र नवीकरणको लागि निवेदन पेश नगर्ने बीमा सर्भेयरको इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था गरेको हो ।
बीमा सर्भेयरले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ को नियम ४८ को उपनियम (१) बमोजिम बीमा सर्भेयरले इजाजतपत्रको अवधि समाप्त हुनुअगावै वीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात पेश गर्नुपर्ने उल्लेख छ । ‘बीमा सर्भेयरको इजाजतपत्र नवीकरणको लागि बीमा नियमावलीको अनुसूची-७ बमोजिम व्यक्तिगत नवीकरण शुल्क ११ हजार र संस्थागत नविकरण शुल्क २१ हजार दस्तुर तथा नियमन दस्तुर नेपाल बीमा प्राधिकरणको नाममा नबिल बैंक लिमिटेडमा रहेको खाता नं. ०११००१३०११००१ मा रकम जम्मा गर्नुपर्ने उद्देश्य समेत उल्लेख गरि नवीकरण शुल्क जम्मा गरेको निस्सा/भौचर पेस गर्नुपर्नेछ’ प्राधिकरणले भनेको छ ।
यस्तै, बीमा सर्भेयर भएर काम गरेको विवरण तथा कागजात र इजाजतपत्र नवीकरण शुल्क जम्मा गरेको बैंक भौचर प्राधिकरणको केन्द्रीय कार्यालयमा चैत्र मसान्तसम्ममा जम्मा गरिसक्नुपर्ने जनाएको छ । बीमा ऐन, २०७९ बमोजिम इजाजतपत्रको अवधि भित्र नवीकरण गर्न नसकेका बीमा सर्भेयरले म्याद सकिएको अवधिदेखि तीन महिना भित्र अनुसूची-७ बमोजिम विलम्ब शुल्क पाँच हजार रुपैयाँ भुक्तानी गरी निवेदन पेश गर्न सक्ने प्राधिकरणले बताएको छ ।



About Us
प्रतिक्रिया