हिल्टन होटल पुनर्बीमा घोटालाको फाइल अख्तियारमा, नेपाल रि र हिमालयन रिका उच्च पदाधिकारी तानिँदै


काठमाडौं – काठमाडौंस्थित हिल्टन होटलको पुनर्बीमामा भएको अनियमितता प्रकरणको फाइल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ। यस प्रकरणमा पुनर्बीमा कम्पनीहरूका उच्च पदाधिकारीसमेत तानिने भएका छन्। यो प्रकरणको छानबिन नेपाल बीमा प्राधिकरणले गरेको थियो। अख्तियारमा उजुरी परेपछि अर्थ मन्त्रालयमार्फत प्राधिकरणलाई छानबिन गर्न निर्देशन दिइएको थियो। प्राधिकरणले छानबिन पूरा गरेर फाइल अर्थ मन्त्रालयमार्फत अख्तियारमा पठाइसकेको स्रोतले जनाएको छ।

यसअघि प्राधिकरणले हिल्टन होटलको बीमा प्रकरणमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र द ओरियन्टल इन्स्योरेन्स कम्पनीलाई कारबाही गरिसकेको थियो। प्राधिकरणले नेपाल रिइन्स्योरेन्सका सीईओ सुरेन्द्र थापासहित सम्बन्धित कम्पनीहरूलाई २/२ लाख रुपैयाँ जरिवाना गरेको थियो। छानबिनपछि हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा समेत दिएका थिए। उनले गएको साताको आइतबार (८ चैतमा) राजीनामा दिएका हुन्।

के हो पुनर्बीमा घोटाला ?

जेनजी आन्दोलनका क्रममा हिल्टन होटेलमा आगलागी भएर ठुलो क्षति भएपछि बीमा दाबी प्रक्रिया सुरु भएको थियो। तर छानबिनमा पुनर्बीमा कम्पनीहरूबीच दायित्व एकअर्कामा सार्ने चलखेल भएको निष्कर्ष नियामक निकायले निकालेको छ।
अनुसन्धान अनुसार हिल्टन होटलको पुनर्बीमाको शुल्क (प्रिमियम) भने हिमालयन रिइन्स्योरेन्सले लिएको थियो। तर, दाबी भुक्तानीको जिम्मेवारी सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्समा सार्ने प्रयास भएको देखिएको छ।

यसमा नेपाल रिका सीईओ सुरेन्द्र थापा स्वयं संलग्न रहेको पनि छानबिनमा खुलेको बताइएको छ। आगलागीबाट होटलमा करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। प्रारम्भिक अनुसन्धानमा हिमालयन रिइन्स्योरेन्सले २ अर्ब २५ करोड, नेपाल रिइन्स्योरेन्सले ७५ करोड र ओरियन्टल इन्स्योरेन्सले १ अर्ब भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढाइएको थियो।

पुनर्बीमा नियम के भन्छ ?

यो बीमा योजना दंगा, हडताल, दुर्भावनापूर्ण क्षति तथा आतङ्कजन्य जोखिम अन्तर्गत गरिएको थियो। यस्तो बीमामा १० करोड रुपैयाँसम्मको दाबीमा बीमा र पुनर्बीमा कम्पनीले संयुक्त रूपमा भुक्तानी गर्ने तर १० करोडदेखि ६ अर्ब रुपैयाँसम्मको दाबीमा सम्पूर्ण दायित्व पुनर्बीमा कम्पनीले नै वहन गर्नुपर्ने नियम छ। तर यही दायित्व व्यवस्थापनमा चलखेल भएको आशंका गरिएको छ।

बैंकहरूको पनि ठूलो लगानी

हिल्टन होटल परियोजनामा ९ वटा बैंकले करिब ५ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। तीमध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एभरेस्ट बैंक लगायतका बैंक छन्। होटलमा कुल लगानी ८ अर्बभन्दा बढी भए पनि करिब ५ अर्ब रुपैयाँ बराबरको मात्रै बीमा गरिएको थियो। अब यो प्रकरण अख्तियार पुगेपछि पुनर्बीमा कारोबारमा भएको मिलेमतो, दायित्व सार्ने प्रयास र निर्णय प्रक्रियामा संलग्न उच्च पदाधिकारीमाथि थप अनुसन्धान हुने आयोग स्रोतले जानकारी दिएको छ।