काठमाडौं – नेपाल बीमा प्राधिकरणले हिल्टन होटेल बीमा प्रकरणमा नेपाल रिसहित हिमालयन रि र दी ओरिएन्टल इस्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले नेपाल रिइस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापासहित हिमालयन रि र दी ओरिएन्टल इस्योरेन्स कम्पनीलाई २/२ लाख जरिवाना गरेको हो ।
प्राधिकरणले हिल्टन होटेलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ को पुनर्बीमा र पुनर्बीमाको दायित्वमा निर्देशन र नियमविपरीतको कार्य गरेको भन्दै कारबाही गरेको हो । जेन–जी आन्दोलनका क्रममा काठमाडौंस्थित हिल्टन काठमाडौं होटलमा भएको आगलागीपछि उठेको बीमा दाबी प्रकरणमा पुनर्बीमा कम्पनीहरूबीच जिम्मेवारी सार्ने चलखेल भएको नियामक निकाय नेपाल बीमा प्राधिकरणको निष्कर्ष थियो। नेपाल बीमा प्राधिकरणले यस प्रकरणमा मिलेमतो भएको आशंकासहित सम्बन्धित पक्षसँग स्पष्टीकरण मागेको थियो भने सोही आधारमा अब कारबाही प्रक्रिया अघि बढाएको हो ।
प्राधिकरणले बीमा कम्पनी ओरियन्टल इन्स्योरेन्स, पुनर्बीमा कम्पनीहरू हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स सीईओ सुरेन्द्र थापा तथा पुनर्बीमा ब्रोकर कम्पनी एलियन्ट पुनर्बिमा ब्रोकर सँग लिखित स्पष्टीकरण मागेको थियो। प्राधिकरणले एलियन्टको लाइसेन्स ३ महिनाका लागी निलम्बन गरेको छ ।
हिमालयन रिइन्स्योरेन्सले वहन गर्नुपर्ने दायित्व सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्समा सार्ने प्रयास भएको आशंकामा नियामकले छानबिन थालेको थियो। हिल्टन होटलको बीमापछिको पुनर्बीमाका लागि लाग्ने शुल्क हिमालयन रिलाई बुझाउँदै आए पनि क्लेम भने नेपाल रिमा परेको अनुसन्धानले देखाएको छ । यसमा नेपाल रिका सीईओ थापा आफैं संलग्न भएको छानबिनमा खुलेको छ। आगलागीबाट होटलमा करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। बीमा दाबी व्यवस्थापनको प्रारम्भिक प्रस्तावअनुसार हिमालयन रिइन्स्योरेन्सले २ अर्ब २५ करोड, नेपाल रिइन्स्योरेन्सले ७५ करोड र ओरियन्टल इन्स्योरेन्सले १ अर्ब रुपैयाँ भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढाइएको थियो।
यो बीमा योजना आरएसएमडीएसटी (दंगा, हड्ताल, दुर्भावनापूर्ण क्षति तथा आतंकजन्य जोखिम) अन्तर्गत गरिएको थियो। यस्तो बीमामा १० करोड रुपैयाँसम्मको दाबीमा ६५ प्रतिशत पुनर्बीमा कम्पनी र ३५ प्रतिशत बीमा कम्पनीले भुक्तानी गर्ने व्यवस्था हुन्छ। तर १० करोडदेखि ६ अर्ब रुपैयाँसम्मको दाबीमा भने सम्पूर्ण दायित्व पुनर्बीमा कम्पनीले वहन गर्ने प्रावधान रहेको छ।
यस परियोजनामा ९ वटा बैंकले करिब ५ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। ती बैंकहरूमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एभरेस्ट बैंक लगायतका वित्तीय संस्था छन्। होटल क्षेत्रका विवरणअनुसार हिल्टन होटलमा ८ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। तर होटलले करिब ५ अर्ब रुपैयाँ बराबरको मात्रै बीमा गरेको थियो।



About Us
प्रतिक्रिया