काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ४ करोड अमेरिकी डलर (५ अर्ब ८७ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको छ। डिजिटल रुपान्तरण र नागरिक र व्यवसायका लागि उच्च प्रभावका डिजिटल सेवाहरुमा पहुँच विस्तार गर्न उक्त ऋण दिन लागेकाे हाे।
एडीबी र विश्व बैंकको पूर्ण द्विपक्षीय अवधारणाअन्तर्गत दक्षिण एसियामै पहिलोपटक नेपाल डिजिटल रुपान्तरण परियोजनालाई दिइने यस ऋणले देशको डेटा होस्टिङ र साइबर सुरक्षा पूर्वाधारलाई बलिदयो बनाउनेछ। यसले देशैभर डिजिटल सुरक्षा, आधुनिक र प्रयोगकर्ताकेन्द्रित सार्वजनिक सेवाका पूर्वाधारलाई थप मजबुत बनाउने एडीबीले अपेक्षा राखेकाे छ।
नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउ केउकोइसले भने ‘अब डिजिटल रुपान्तरण केवल विकल्प मात्र छैन, अब सार्वजनिक सेवा डेलिभरी र नेपालको आर्थिक विकासलाई सहयोगका लागि यो निकै महत्त्वपूर्ण छ’। एडीबी र वर्ल्ड ब्यांकले समर्थन गरेको यो कार्यक्रमले सेवाको पहुँचलाई सहज बनाउने केउकोइसकाे भनाइ छ।
यो परियोजना नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यान्वयन गर्नेछ। यो नेपालको डिजिटल नेपाल फ्रेमवर्क २.०, १६औँ राष्ट्रिय योजना, ई गभर्नेन्स ब्लुप्रिन्ट र एडीबीको देशीय साझेदारी रणनीति २०२५–२०२९ सँग सम्बन्धित रहेको छ।



About Us
प्रतिक्रिया