सहकारीबाट ऋण लिएर नतिर्ने १३ हजार ऋणीको बैंक खाता र सम्पत्ति रोक्का


काठमाडौं – समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनका लागि गठित समितिले सहकारी ठगी प्रकरणमा संलग्न १३ हजार ऋणी सदस्यका बैंक खाता, शेयर लगानी तथा चल–अचल सम्पत्तिमा रोक लगाएको छ। बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको कार्यालयले जनाएकाे छ।

कार्यालयका अनुसार नेपाल सरकारबाट घोषणा गरिएका अधिकांश सहकारी संस्थाको पूँजी अपर्याप्त र असुली नहुने कर्जा उच्च छ। जसले गर्दा बचतकर्ताको बचत रकम चाहेर पनि पूर्ण फिर्ता गर्न नसकिने कार्यालयले जनाएको छ।

समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्यसम्पादन गर्ने क्रममा ७४ हजार ३ सय ७ जनाबाट ४४ अर्ब ४८ करोड ९० लाख ५ हजार ६ सय २६ रुपैयाँ रकम बचत मागदाबी पेस भएकाेमा ४ अर्ब १२ करोड ६६ लाख ५ हजार ६ सय ५४ रुपैयाँ बचत फिर्ता र मिलान कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ।