काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा दश उम्मेदवारमध्ये पाँचजनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन्।
जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार जिल्लामा विभिन्न नौवटा राजनीतिक दलसहित एकजना स्वतन्त्र गरी १० जना उम्मेदवारले निर्वाचनमा भाग लिएका छन्। उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्वाचन आयोगले निर्देशन दिएको छ।
जसअनुसार जुम्लामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी, नेकपा एमालेका उम्मेदवार शान्तिलाल महत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले बैंक खाता खोल्न निर्वाचन कार्यालय जुम्लाबाट सिफारिस लिएको निर्वाचन अधिकारी कँडेलले जानकारी दिए।
निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता नखोलेका उम्मेदवारलाई कार्यालयले जानकारी गराएको छ। आयोगले २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने जनाएको छ।
निर्वाचनलाई लक्षित गर्दै आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको हो। आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ।
उम्मेदवारले बैंक खाता नखोलेमा कानुनी समस्या हुने जनाइएको छ। निर्वाचनपछि खर्च विवरण आयोगमा बुझाउनु पर्ने प्रावधान छ। बैंक खाता नखोली गरिएको खर्चलाई आयोगले मान्यता नदिने र कानुनी समस्या उत्पन्न हुन सक्ने निर्वाचन आयोगले जनाएको छ।



About Us
प्रतिक्रिया