सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न


काटमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित कार्यक्रमबीच काठमाडौं उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (एनएआइएमए) को सहकार्यमा उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको हो।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने महानुभावहरूलाई कदर पत्र प्रदान गरे। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षा सम्बन्धमा सडक प्रयोगकर्ता, सडक विभाग, यातायात व्यवस्था विभाग, सवारी साधन धनी तथा यातायात व्यवसायीहरू लगायतका सरोकारवाला पक्षहरूको जिम्मेवारी, दायित्व र जवाफदेहिता अपरिहार्य रहने उल्लेख गर्दै सडक सुरक्षामा कुनै एक निकायको जिम्मेवारी नभई सबैको संयुक्त जिम्मेवारी एवम् दायित्व हुने भएकोले त्यसतर्फ सबै सरोकारवाला पक्षहरू केन्द्रित हुनुपर्ने बताए।

सडक प्रयोगकर्ताहरू स्वयम्‌ले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै सडक सुरक्षाको लागि सबै सरोकारवालाहरूबीच आपसी समन्वय र सहकार्य समेत आवश्यक रहेको उनले बताए। प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण जिम्मेवारी भएकोले उक्त व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीहरूलाई जनस्तरबाट समेत सहयोग र सद्भाव प्राप्त हुने गरेको उल्लेख गर्दै गोष्ठीबाट प्राप्त भएका ज्ञान अनुभवहरूले ट्राफिक प्रहरीको व्यावसायिक क्षमता, विश्लेषणात्मक सोच, निर्णय र नेतृत्व क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउने र आम नागरिकको अपेक्षा अनुरूपको उत्तरदायित्व एवम् प्रभावकारी सेवा प्रवाह गर्न सफलता मिल्ने विश्वास व्यक्त गरे।

गोष्ठीबाट सडक प्रयोगकर्ता, सरोकारवाला पक्षहरू र ट्राफिक प्रहरीबीच थप व्यावसायिक निकटतामा वृद्धि भई सडक सुरक्षा व्यवस्थापनमा थप प्रभावकारिता आउने समेत उनले बताए।