काठमाडौं – अनलाइन होस् वा अफलाइन कारोबार, विश्वास गर्नु अघि अनिवार्य रूपमा सावधानी अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ। प्रेम दिवसअन्तर्गत मनाइने ‘हग डे’ का अवसरमा प्रहरीले विशेष सचेतना सन्देश जारी गर्दै भावनामा बगेर निर्णय नगर्न र कुनै पनि सूचना वा प्रस्तावलाई पहिले प्रमाणीकरण गर्न अनुरोध गरेको हो।
प्रहरीले सार्वजनिक गरेको सन्देशमा उल्लेख छ-‘भावनामा होइन, भेरिफिकेसनमा विश्वास गरौँ।’ सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन प्लेटफर्महरूको तीव्र विस्तारसँगै सूचना आदानप्रदान सहज बनेको भए पनि अपुष्ट, भ्रामक तथा ठगीसम्बन्धी सामग्रीहरू पनि तीव्र गतिमा फैलिने क्रम बढी रहेको अवस्थामा प्रहरीले यस्तो सन्देश प्रवाह गरेको हो।
विशेषगरी प्रेम दिवसका अवसरमा नक्कली उपहार अफर, फेक प्रोफाइलमार्फत भावनात्मक सम्बन्ध गाँसेर रकम असुल्ने, अनलाइन सपिङ ठगी, र विभिन्न प्रलोभन देखाएर व्यक्तिगत विवरण माग्ने जस्ता घटना बढ्ने गरेको प्रहरीको भनाइ छ। यस्ता गतिविधिबाट जोगिन नागरिकले अपरिचित व्यक्तिको अनुरोध स्वीकार नगर्ने, शङ्कास्पद लिङ्क नखोल्ने, व्यक्तिगत तथा बैंकिङ्ग विवरण साझा नगर्ने र आधिकारिक स्रोतबाट मात्र सूचना प्रमाणीकरण गर्ने सुझाव दिइएको छ।



About Us
प्रतिक्रिया