हाई प्रोफाइललाई धम्क्याउने पाठकलाई फिलिपिन्सबाट ल्याइयो नेपाल 


काठमाडौं – अख्तियार प्रमुखसहित १० हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। उनलाई आज फिलिपिन्सबाट नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार उनलाई लिन नेपाल प्रहरीको प्रधान कार्यालयबाट र जिल्ला प्रहरी परिसर काठमाडौंबाट दुई जना प्रहरी अधिकृत गएका थिए। उनले हाई प्रोफाइललाई सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आइरहेका थिए।

त्यसै क्रममा उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले गत पुसमा पक्राउ गरेको थियो। पाठकविरुद्ध गत मंसिर २६ मा डिफ्युजन नोटिस समेत जारी गरिएको थियो। उनीविरुद्ध जबरजस्ती चन्दा र आपराधिक षड्यन्त्रको लागि इन्टरपोल प्रसार जारी गरिएको थियो। उनलाई डिसेम्बर ३१ मा मालोलोस सहरको बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसोबाट पक्राउ गरिएको फिलिपिन्स प्रहरीले जनाएको छ।

फिलिपिन्स प्रहरीका अनुसार पाठक २०२५ अगस्ट १८ मा फिलिपिन्स पुगेका र डिसेम्बर १८ सम्म बस्ने अनुमति पाएका अनुसन्धानका क्रममा खुल्न आएको थियो।