वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर


पर्सा – वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ।कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा एक खर्ब १६ अर्ब ५८ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। तर, यहाँको राजस्व संकलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा ३७ अर्ब ८५ करोड रूपैयाँ संकलन भएको छ।

दोस्रो धेरै राजस्व संकलन यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने १३ अर्ब ९८ रूपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए।

चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट छ अर्ब ८३ करोड रूपैयाँ, कपडा आयातबाट पाँच अर्ब २६ करोडरूपैयाँ, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जाबाट चार अर्ब ९१ करोड रूपैयाँ राजस्व संकलन भएको छ।त्यस्तै, मदिराजन्य पेय पदार्थको आयातबाट भने एक अर्ब ८३ करोड रूपैयाँ राजस्व संकलन भएको छ। शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड राजस्व उठेको छ।