पार्किङको विषयमा झगडा हुँदा वीरगञ्जमा एक जनाको मृत्यु


वीरगञ्ज – वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर कुटपिट हुँदा ६५ वर्षीय एक जनाको मृत्यु भएको छ। झगडाका क्रममा केपी चन्द राउत बरईको मृत्यु भएको हो।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले पार्किङको विषयमा कुटपिट हुँदा गम्भीर घाइते भएका बरईको उपचारको क्रममा वीरगञ्जको तराई अस्पतालमा निधन भएको जानकारी दिए।

बरईलाई कुटपिटमा संलग्न रहेको भन्दै पर्सा प्रहरीले वीरगञ्ज महानगर–२३ प्रसौनी बस्ने ३२ वर्षका मुन्ना भन्ने अर्जुन यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए।