बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग


सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएको अवधिभरको औषधोपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौंसम्म लैजानुपर्ने भएमा होलिकप्टरको व्यवस्थापन पनि गरिएको छ। बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र०२००१ख १११९नम्बरको विवाहका जन्ती चढेको बस पुर्चौंडी सडकखण्डको बडगाउँ भन्ने मोडमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

घाइते ३५ जनामध्ये डडेलधुरा अस्पतामा २३, धनगढीको निसर्ग अस्पतालमा सात र बझाङमा पाँच जनाको उपचार भइरहेको छ। उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले बताए। उनका अनुसार दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, मुख्यमन्त्री कमलबहादुर शाहले १३ जनाको ज्यान जानेगरी बिहीबार राति बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट आफू स्तब्ध भएको बताएका छन्। मुख्यमन्त्रीले दुर्घटनामा मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।