शरीर बन्धक तथा ठगी गर्ने पाँच जना बङ्गलादेशसहित ७ जना पक्राउ 


काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ भंगाल स्थित एक घर भाडामा लिई वैदेशिक रोजगारीको लागी इटाली देश पठाई दिने भन्दै बंगलादेशी नागरिकहरूलाई बंगलादेशबाट काठमाडौं बोलाई ठगी गर्ने ५ जना बङ्गलादेशसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

उनीहरूले उक्त घरमा बन्धक बनाई राखी ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बङ्गलादेशका आल मामुन, बिलाल, रिवन विश्वास, बाबु हु, यमडी मसिभुर रहमान, भारतका सरोज कुमार र नुवाकोटका सशि पाठक रहेका छन्।  

उनीहरूले बन्धक बनाई राखी ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं जिल्ला प्रहरी परिसरबाट खटिएका प्रहरीको टोलीले घर खानतलासी गर्दा बन्धक बनाई राखेको अवस्थामा ५ जना बंगलादेशी नागरिकहरूलाई फेला परेको छ।

बन्धकलाई उद्धार गरी बन्धक बनाउने र ठगी गर्ने उनीहरूलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट शरीर बन्धक तथा ठगी सम्बन्धी कसुरमा दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।