महेन्द्रनगर – पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुगेका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उहाँको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेतासमेत रहनुभएका पूर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए।
लेखकको काठमाडौंको नैकापमा रहेको घर, बेदकोट–८ मा रहेको पुर्खौली घर पूर्णरुपमा जलेर नष्ट भएको छ। महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मत गरी उनी आश्रय लिइरहेका छन्। पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कार गरेका छन्।
स्थानीयवासीले गाउँमा भइरहेको सडक पूर्वाधारलगायत विकासका बारेमा जानकारी गराएका थिए। कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बन्नुभएका लेखक यसपटक भने उम्मेदवार छैनन्। नेपाली कांग्रेसले डडेल्धुरामा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट दिएन। पार्टीले यहाँ पूर्वजिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन्।





About Us
प्रतिक्रिया