काठमाडौं – अर्थमन्त्रालयले जेष्ठ पत्रकारलाई मासिक वृत्ति उपलब्ध गराउन सहमति प्रदान गरेको छ। ६५ वर्ष उमेर पूरा गरेका र पत्रकारितामा ३० वर्ष योगदान दिएका जेष्ठ पत्रकारलाई मासिक वृत्ति उपलब्ध गराउन अर्थले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई सहमति दिएको हो।
सरकारको आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रममा पत्रकार वृत्ति कोष स्थापनाका लागि र १ करोड विनियोजन गरेको थियो। कार्यक्रम स्वीकृत भएपछि मिति ३१ असार ०७५ मा ‘पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ स्वीकृति भएको थियो।
स्वीकृत निर्देशिका बमोजिम उक्त कोषको लागि विनियोजन भएको रकम सूचना तथा प्रसारण विभागको विविध खातामा जम्मा गरी निर्देशिकामा व्यवस्था भए बमोजिम एक वाणिज्य बैंकमा मुद्दती खातामा रकम जम्मा गर्ने गरी सूचना तथा प्रसारण विभागले कोषको रकम जम्मा गर्ने प्रक्रिया अगाडि बढाएको थियो।
उक्त निर्देशिकामा पत्रकारिता क्षेत्रमा कम्तीमा ३० वर्ष कार्य गरेको र उमेरको हकमा ६५ वर्ष पुरा भई पत्रकारिता क्षेत्रमा योगदान पुन्याएका व्यक्तिलाई समितिले निर्धारण गरे बमोजिम जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गरिने व्यवस्था छ।
पत्रकार वृत्ति कोषको तर्फबाट सम्पूर्ण कार्य गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अध्यक्ष र सूचना तथा प्रसारण विभागका महानिर्देशक सदस्य सचिव रहने गरी ७ (सात) सदस्यीय एक समिति गठन हुने, समितिको सचिवालय सूचना तथा प्रसारण विभागमा रहने गरी मासिक वृत्तिका लागि पत्रकार छनौटका आधारहरु सहित कोषको व्याजबाट मासिक वृत्ति रकम उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०७५।७६ को नेपाल सरकारको नीति तथा कार्यक्रममा पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई पत्रकारहरुको दिगो हितमा परिचालन गरिनेछ भन्ने व्यवस्था अनुरुप बजेट तथा स्वीकृत कार्यक्रममा समेत २ करोड विनियोजन भएको थियो। सोही अनुसार ०७९ साउन ९ गते पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको थियो। तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरण गरेका थिए।
पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ बमोजिम ज्येष्ठ पत्रकार वृत्ति वितरण गरिएको थियो। मापदण्डमा ६५ देखि ६९ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक सात हजार र ७६ देखि ८० वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ।





About Us
प्रतिक्रिया