काठमाडौं – नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझाले दायर गरेको रिट हेर्न नभ्याइनेमा राखिएको छ। न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले उनको रिट हेर्न नभ्याइनेमा राखेको हो।
ओझाले आफूलाई काममा हाजिर हुन नदिई अर्को अध्यक्ष नियुक्त गरेर अदालतको आदेशको अवहेलना गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
ओझाले दायर गरेको पहिलो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, बीमा ऐन २०७९ को दफा १२९२० अनुसार गठित छानबिन समिति तथा अध्यक्ष सिफारिस समितिका पदाधिकारीहरूलाई विपक्षी बनाइएको छ।
त्यस्तै, दोस्रो रिटमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, मुख्य सचिव एकनारायण अर्याल, अर्थमन्त्रालयका सचिव तथा सहसचिवहरूका साथै नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएका जनक शर्मालाई विपक्षी बनाइएको छ। यद्यपि, जनक शर्मा हाल प्राधिकरणको अध्यक्ष पदबाट बाहिरिइसकेका छन्।





About Us
प्रतिक्रिया