छैटौँ टाइगर कपमा एनसेलको सहकार्य


 काठमाडाैं – पर्यटकीय नगरी पोखरामा सुरु भएकाे राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर कप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा आफूहरुले सहकार्य गरेको एनसेलले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सहकार्य गरेको हो । खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई निरन्तरता दिँदै यो सहकार्य गरेको कम्पनीको भनाई छ । 

टाइगर कप विगत पाँच वर्षदेखि निरन्तर आयोजना भइरहेको छ । गत वर्ष पनि एनसेल यो प्रतियोगिताको मुख्य प्रायोजक रहेको थियो । मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपटक पनि आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको एनसेलको भनाई छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गरेको यो प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रङ्गशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ । प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ६ टोली गरी कुल ११ टोली प्रतिस्पर्धा गर्दैछन् । 

महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्टस क्लब र थाइल्यान्ड क्विन्स गरी पाँच टोली सहभागी छन् । पुरुषतर्फ भने गण्डकी भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स रहेका छन् ।