काठमाडौं – विगत तीन वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको नेशनल इन्स्योरेन्स डिस्कोर्श तेस्रो संस्करणसम्म आइपुग्नु भनेको नेपालको बीमा क्षेत्र बौद्धिक संवाद र नीतिगत परिपक्वताको यात्रामा अघि बढिरहेको स्पष्ट संकेत हो। पहिलो र दोस्रो संस्करणले बीमा क्षेत्रमा देखिएको नीतिगत अस्पष्टता, व्यवहारिक चुनौती र जन विश्वासका संवेदनशील विषयहरूलाई खुल्ला बहसमा ल्याउन उल्लेखनीय भूमिका खेले।
तेस्रो संस्करण भने बीमा क्षेत्र कहाँ छ भन्ने प्रश्न मात्रै होइन। अब कहाँ पुग्नुपर्छ भन्ने दीर्घकालीन दिशालाई केन्द्रमा राखेको देखिन्छ। यहीँ नै डिस्कोर्शको परिपक्वता हो। बीमा क्षेत्र नेपालको वित्तीय क्षेत्रको मौन तर बलियो स्तम्भको रूपमा स्थापित भइरहेको छ। जोखिम व्यवस्थापन, दीर्घकालीन बचतको परिचालन र समग्र वित्तीय स्थायित्वमा यस क्षेत्रको योगदान निरन्तर सुदृढ हुँदै गइरहेको छ। आर्थिक वर्ष २०८१/८२ तथ्यांक हेर्ने हो भने जीडिपीमा बीमा क्षेत्रको योगदान ३.७२ प्रतिशत पुगेको छ । जबकी आर्थिक वर्ष २०८०/८१ मा ३.४७ प्रतिशत योगदान रहेको थियो । यस वृद्धिले बीमा क्षेत्र केबल सहायक क्षेत्र नभई अर्थतन्त्रको मुख्य संरचनात्मक आधार बन्दै गएको स्पष्ट संकेत गर्छ ।
समग्र अर्थतन्त्र र पुँजी बजारको दृषिकोणबाट हेर्दा बीमा क्षेत्र नेपालको पुँजी बजारको एक अभिन्न, विश्वासिलो रणनीतिक हिस्सा हो। हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २९ बीमा कम्पनीमध्ये जीवन बीमा २ वटा लघुबीमासहित १४ वटा, १ लघुबीमा सहित १३ वटा निर्जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनीहरू रहेका छन्।
यस आधारमा नेप्से बीमा कम्पनीहरूका लागी पुँजी बजारसँग सम्बन्धित महत्त्वपूर्ण नियामक तथा संरचनात्मक प्लेटफर्म हो। २०८२ पुस मसान्तसम्मको तथ्यांकअनुसार नेप्से कुल बजार पुँजीकरण ४४.३५ खर्बमा बीमा क्षेत्रको हिस्सा १३.३५ प्रतिशत, पुनर्बीमासहित १९.६८ प्रतिशत छ। त्यस्तै, करिब १५ खर्बको मार्केट क्यापिटलाइजेशनमा बीमा क्षेत्रको योगदान १५.०९ प्रतिशत पुनर्बीमासहित यस योगदान १९.०६ प्रतिशत पुग्छ। यति ठुलो हिस्सा ओगटेको बजारमा बीमा कम्पनीहरूले गर्ने व्यवसायीक अनुशासित र पारदर्शी लगानीले पुँजी बजारलाई स्थायित्व प्रदान गरेको छ। बीमा क्षेत्र जति सरल हुन्छ पुँजी बजार त्यति नै सुरक्षित हुन्छ। (नेप्सेका सीईओ चापागाईंले तेस्रो इन्स्योरेन्स डिस्कोर्शमा राखेको मन्तव्यमा आधारित)





About Us
प्रतिक्रिया