इन्स्योरेन्स डिस्कोर्श: स्वास्थ्य बीमाको भविष्यसम्बन्धी सत्रमा सीईओ लिम सहभागी हुने


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को तेस्राे सत्रमा वक्ताका रुपमा सिंगापुरको लेक्सास्योर फाइनान्सियल ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इयान लिम सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको‘ स्वास्थ्य सेवाको पहुँच, नेपालमा स्वास्थ्य बीमाको भविष्य’ विषयक सत्रमा लिम सहभागी हुने भएका हुन्।

बीमा तथा वित्तीय क्षेत्रमा ३० वर्षभन्दा बढीको व्यवस्थापकीय तथा उद्यमशील अनुभव संगालेका उनले बीमा उद्योगका सबै क्षेत्रहरू निर्जीवन तथा जीवन बीमा, पुनर्बीमा अन्डरराइटिङ र अन्तर्राष्ट्रिय ब्रोकिङमा काम गरेका छन्।

उनी चार्टर्ड इन्स्योरेन्स प्र्याक्टिसनर तथा बेलायतको चार्टर्ड इन्स्योरेन्स इन्स्टिच्युटका एसोसिएट समेत हुन्। सन् १९९८ देखि सिंगापुर कलेज अफ इन्स्योरेन्समा नियमित रूपमा प्राध्यापकका रूपमा कार्यररत छन्।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ।

यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।