आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)


काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको  छ। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो।

नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, सङ्घर्ष, सेवाभावलाई सजीव रूपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरूले दिनानुदिन दिन भोग्दै आएको सङ्घर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निस्वार्थ सेवाको यथार्थ चित्रण सहितको भाव प्रस्तुत गरिएको छ।

गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनको क्रममा उनले प्रत्यक्ष अवलोकन र अनुभूत गएका विषयहरूलाई यस गीतको माध्यमबाट उत्कृष्ट छायांकनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तवरले प्रस्तुत गरिएको छ। नवयुवा पुस्ताको आन्दोलन पश्चात् खरानीबाट उठेर नागरिक सेवा र सुरक्षामा होमिएका प्रहरीको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आम नागरिक प्रतिको कर्तव्य बोधलाई यस गीतले भावनात्मक रूपमा उजागर गरेको छ। 

यस गीतमा दिपक शर्माको संगीत, उदय राज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ–मास्टरिङ्ग रहेको छ । गायक थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा सुरक्षा पन्त, सुर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदिप पट्टेल, कृतिका बस्नेत लगायतका कलाकारहरूले अभिनय गरेका छन्। मानव सुवेदीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायांकन तथा सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ। 

गीतको प्रदर्शनी कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।