निर्धन उत्थानको १२ प्रतिशत लाभांश पारित


काठमाडौं – निर्धन उत्थान लघुवित्त संस्थाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा संस्थाका अध्यक्ष जनार्दन देव पन्तको सभापतित्वमा काठमाडाैं नक्साल भगवतिवहालस्थित संस्थाको मुख्य कार्यालय भवनमा सम्पन्न भएकाे हाे।

सभामा सञ्चालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरू गरी कुल १५५ जनाको उपस्थिति रहेको थियो। साधारण सभामा अध्यक्ष पन्तले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे।

सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफा बाट प्रस्ताव गरेअनुसार नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पुँजी २ अर्ब ६१ करोड २० लाख  ७९ हजार ७५० रूपैयाँको ७ प्रतिशतले हुन आउने रकम (१८२,८४५५८२.५०) १८ करोड २८ लाख ३५ हजार ५ सय ८२ र ५० पैसा करसहित नगद लाभांश र ५ प्रतिशत बोनस शेयर  जारी गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। संस्थाले ५ प्रतिशत बोनस शेयर पारित गरे पश्चात् संस्थाको जारी तथा चुक्ता पुँजी २ अर्ब ७४ करोड २६ लाख ८३ हजार ७३७ र पैसा ५० मात्र कायम भएको छ।

संस्थाको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृति गर्नुका साथै संस्थाको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

सभामा शेयरधनी यज्ञ प्रसाद शर्मा, सुन्दर वास्तोला र प्रा.डा. फत्त बहादुर के.सिले शुभकामना मन्तव्य दिए। सो क्रममा के.सीले विगतमा शेयरधनीको हात खाली रहेकोमा यस वर्ष १२ प्रतिशत लाभांश दिएकोमा खुशी ब्यक्त गरे। साथै, देशको अर्थव्यवस्था, बैंक वित्तीय क्षेत्रसँगै लघुवित्त सेवा जटिल मोडमा पुगेको छ। आगामी साधारण सभामा शेयर धनी बोल्नै नपर्ने गरी कार्य गर्न गराउन सुझाव दिए।

शेयरधनीहरुको जिज्ञासा तथा प्रश्न बारेमा समीक्षा गर्दै संस्थाको लक्ष्य, योजना, रणनीति तथा कार्यनीति बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दाहालले प्रस्ट पारे। सो क्रममा संस्थाले चालु वर्षमा समेत संस्थाले लिएको लक्ष्य योजना अनुसार सफल हुने गरी कार्य सम्पादन भइरहेको जानकारी गराए। संस्थाले २०८२ कार्तिक मसान्त सम्ममा देशका ७७ वटै जिल्लामा ५५४ वटा स्थानीय निकायमा कुल १८५ वटा शाखा कार्यालय मार्फत चार लाखभन्दा धेरै घरधुरीलाई लघुवित्त वित्तीय सेवा प्रदान गरिरहेको छ।