काठमाडौं – नेपालको संस्था बिल्ड अप नेपालले सन् २०२६ को जायद दिगोपन पुरस्कार प्राप्त गरेको छ। संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नहयानले अबुधाबी दिगोपन सप्ताहको अवसरमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरेका हुन्। बिल्ड अप नेपालले जलवायु कार्य समूहअन्तर्गत यो सम्मान पाएकाे हाे।
सन् २००८ मा स्थापना गरिएको जायद दिगोपन पुरस्कार संयुक्त अरब इमिरेट्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारमध्ये एक हो। स्वास्थ्य, खाद्य, ऊर्जा, पानी, जलवायु कार्य तथा विश्वभरका विद्यालय तहसम्म दिगो समाधानमा योगदान पुर्याउने संस्था तथा परियोजनाहरूलाई यस पुरस्कारमार्फत सम्मान गरिँदै आएको छ।
यो पुरस्कार यूएईका संस्थापक पिता स्वर्गीय शेख जायेद बिन सुल्तान अल नहयान को दिगो विकास, मानवता र अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी दृष्टिकोणको सम्मानस्वरूप स्थापना गरिएको हो। बिल्ड अप नेपालले कम कार्बन उत्सर्जन गर्ने, भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री इको–इँटा उत्पादनमार्फत दिगो निर्माण क्षेत्रमा पुर्याएको योगदानका लागि यो पुरस्कार प्राप्त गरेको हो।

संस्थाका अनुसार हालसम्म ३३ लाख इको–इँटा उत्पादन, १२ हजारभन्दा बढी सुरक्षित घर निर्माण, २ हजार हरित रोजगारी सिर्जना तथा करिब १ लाख १० हजार टन कार्बन डाइअक्साइड उत्सर्जन न्यूनीकरण गरिएको छ। यी इको–इँटाले निर्माण लागत घटाउनुका साथै जाजरकोट र पश्चिम रुकुम जस्ता भूकम्प जोखिमयुक्त क्षेत्रहरूमा सुरक्षित आवास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्।

उक्त पुरस्कारले विश्वव्यापी दिगोपन प्रयासमा नेपालको योगदानलाई उजागर गर्नुका साथै स्थानीय स्तरबाट विकसित नवप्रवर्तनहरूले जलवायु परिवर्तन, विपद् प्रतिरोध क्षमता तथा दिगो विकासका चुनौती समाधान गर्न सक्ने सन्देश दिएको छ। पुरस्कार वितरण समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो। अबुधाबीस्थित नेपाली राजदूतावास ले दिगो विकासका क्षेत्रमा नवीन र प्रभावकारी योगदान पुर्याएकोमा बिल्ड अप नेपाल प्रति प्रशंसा व्यक्त गरेको छ। उक्त पुरस्कार बिल्ड अप नेपालका व्यवस्थापकीय निर्देशक ब्योर्न सोडरबर्गले ग्रहण गरेका हुन्।






About Us
प्रतिक्रिया