दुई इन्स्योरेन्स कम्पनीहरूद्वारा पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड २५ लाख सहयोग


काठमाडौं – सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज संयुक्त रूपमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीले एक करोड रुपैयाँको चेक र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

सरकारले स्थापना गरेको उक्त कोषमा आज प्राप्त रकमसहित हालसम्म जम्मा ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भएको अर्थमन्त्रालयले जनाएको छ।