जेनजी आन्दोलनका कारण २३ अर्ब १९ करोडको बीमा दावी, १ अर्ब ९५ करोड भुक्तानी


काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भएको क्षतिको हालसम्म २३ अर्ब १९ करोड ३६ लाख बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांङ्कअनुसार असोज २८ गतेसम्मको तथ्यांङ्कअनुसार २३ अर्ब १९ करोड बीमा दावी परेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांङ्कअनुसार हालसम्म १ अर्ब ९५ करोड ४७ लाख बराबरको रकम दावी भुक्तानी गरिसकेका छन् । यस्तै, हालसम्म कुल ३ तीन हजार १६३ बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । कुल दाबीमध्ये सम्पत्ति बीमा ६७३, मोटर बीमा दुई हजार २५६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १८२, परिवहन बीमा १२ र अन्य बीमा ४० रहेका छन् ।

बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाएको छ । यस्तै, प्राधिकरणकाअनुसार सबैभन्दा बढी बीमा दावी बाग्मति प्रदेशको रहेको छ । प्राधिकरणकाअनुसार कोशी प्रदेशमा ३९४, मधेसमा ३६२, बाग्मतीमा १ हजार ७०६, गण्डकीमा २१३, लुम्बिनीमा २५६, कर्णालीमा २८ र सुदूरपश्चिम प्रदेशमा २०४ बीमा दाबीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी अर्थात् ५ अर्ब ४८ करोड ५४ लाख बराबरको बीमा दावी परेको छ । सो मध्ये हालसम्म कम्पनीले ७८ करोड बराबरको रकम भुक्तानी गरेको छ । त्यसैगरी, दी ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड ८२ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले ७१ लाखबराबरको रकम भुक्तानी गरेको छ ।