दसैंका लागी सुकिला नोट आजदेखि साट्न सकिने, कहाँ–कहाँबाट लिन सकिन्छ ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले चाडपर्वलक्षित सुकिला नोट आजदेखि वितरण गर्ने भएको छ । यो वर्ष पनि नयाँ नोट निष्कासन नगर्ने निर्णय गरेको केन्द्रीय बैंकले आजदेखि सुकिला नोट बजारमा पठाएको हो ।

राष्ट्र बैंकले गत वर्षदेखि दसैंको समयमा नयाँ नोट नबाड्ने नीति लिएको छ । दसैंमा नयाँ नोट प्रयोग गर्दा धेरै फोहोर हुने र नोट छिट्टै पुरानो हुने हुँदा राष्ट्र बैंकले दसैंको समयमा नोट निष्कासन नगर्ने नीति लिएको हो ।

जसकारण, आजदेखि सुकिला नोट साट्न सकिन्छ । केन्द्रीय बैंककाअनुसार सुकिला नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा प्रदेशस्तरीय कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी र बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

एक जना व्यक्तिले पाँच, दश, बीस, पचास र एक सय रुपैयाँ दरका नोटसहितको १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउनेछन् ।