काठमाडौं – सरकारले सूचीकरणमा नआएको भन्दै बिहीबार फेसबुक, हाम्रोपात्रोसहित २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय बनाउने निर्णय गरेको थियो । सोही अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा इन्टरनेट सेवा प्रदायकहरूले सामाजिक सञ्जाललाई निष्क्रिय बनाइरहेका छन् ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वसूचनाप्रविधि (आइटी) विज्ञ असगर अलीको एम्बिसन गुरु जस्ता सामाजिक सञ्जालका प्लेटफर्मलाई भने उन्मुक्ति दिएको छ । अघिल्लो कार्यकालमा असगर अलीलाई ओलीले आइटी विज्ञमा नियुक्त गरेका थिए । एम्बिसन गुरु विद्यार्थीहरूका लागि अध्ययन गर्नका लागि निर्माण गरिएको प्लेटफर्म हो ।
यसले आफ्नो सेवामा आबद्ध हुने विद्यार्थीहरूलाई ओटिटी (ओभर–द–टप) प्लेटफर्मको रुपमा सुविधा दिइरहेको छ । शिक्षक र विद्यार्थीबीच अन्तक्र्रिया गर्न मिल्ने गरि बनाइएको प्लेटफर्मले हालसम्म ओटिटी वा सामाजिक सञ्जाल कुनै पनि लाइसेन्स लिएको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौडेलले हालसम्म नेपाल दूरसञ्चार प्राधिकरणले पहिचान गरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई मात्रै निष्क्रिय बनाएको बताए ।
उनले क्रमशः पहिचान हुँदै गएमा बाँकी सामाजिक सञ्जाल पनि निष्क्रिय बनाउने बताए । प्रधानमन्त्री निकट असगर अलीको ’एम्बिसन गुरु’कै कारण यसअघि विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । एसईइको नतिजा राम्रो नभएपछि प्रधानमन्त्री ओलीले निःशुल्क ट्युसनदेखि अनलाइन क्लाससम्मको घोषणा गरेका थिए ।
असगर अलीले एसइई लक्षित अनलाइन कक्षाका लागि शैक्षिक सामग्री बनाउने र एम्बिसन गुरुलाई त्यसको जिम्मेवारी दिने उद्देश्यले उनले सो योजना शिक्षा मन्त्रालयमा लगेका थिए । तर, यो प्रस्ताव लिएर मन्त्रालय गएका अलीलाई पूर्वशिक्षामन्त्री विद्या भट्टराईले अस्विकार गरिन् । शिक्षा मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस्तै काम गर्दै आएको छ ।
केन्द्रले यस्तै अडियो र भिडियो सामग्री उत्पादन गर्दै आएको छ । जुन काम सरकारी निकायले गरिरहेको छ, त्यही काम किन निजी कम्पनीलाई दिने भनेर मन्त्री भट्टराईले असगरको प्रस्ताव अस्वीकृत गरिदिइन् । आफू निकटका असगरको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री ओली मन्त्री भट्टराईसँग चिढिएर उनलाई राजीनामा दिन लगाएका थिए । असगरको कम्पनीले बनाएको ‘एम्बिसन गुरु’ एपको प्रवद्र्धन गर्न शिक्षा मन्त्रालयको कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा तानिएको थियो ।
एम्बिसन गुरु मात्र होइन, २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय पारेको प्राधिकरणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रुथ सोसियल, जुम, नेपाली पात्रो, कू, स्काइप, फ्लिकर, किक मेसेन्जर, बिरियल, मिट अप जस्ता थुप्रै सामाजिक सञ्जाल बन्द गरेकाे छैन ।






About Us
प्रतिक्रिया