बीमा कम्पनीको लगानी सीमा बढ्यो, अब बचत पत्र र ऋणपत्रमा ३५ प्रतिशतसम्म लगानी गर्न सकिने

‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’


काठमाडौं – बीमा कम्पनीहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशत लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ ले साे व्यवस्था गरेकाे हो ।

लगानी निर्देशिका अनुसार बीमकलाई सरकारी सुरक्षणपत्र र राष्ट्र बैंक श्रणपत्रमा लगानी गर्न कुनै पनि प्रकारको बन्देज र सीमा लागू नहुने व्यवस्था समेत गरेको छ । यसमा कुल लगानीको ३५ प्रतिशत लगानी गर्न पाइने व्यवस्था गरेको छ । यसअघि यसमा २५ प्रतिशतसम्म मात्र लगानी गर्न पाइने व्यवस्था थियो । प्राधिकरणले लगानी निर्देशिका संशोधन गरेर १० प्रतिशत बढाएको छ।

निर्देशिकाले जीवन बीमा, निर्जीवन बीमा, लघु जीवन बीमा, लघु निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूका लागि बेग्लाबेग्लै लगानीसम्बन्धी व्यवस्था गरेको छ । यो निर्देशिकाले बीमा क्षेत्रको लगानीलाई थप सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। बीमा कम्पनीहरुले अब प्रत्येक पोर्टफोलियो र शेयरधनी कोषबाट गरिएको लगानी तथा खरिद सम्पत्तिको लेखांकन छुट्टाछुट्टै गर्नुपर्ने भएको छ ।

बीमा प्राधिकरणले जारी गरेको नयाँ व्यवस्थाअनुसार बीमकले आफ्नो कोषमा रहेको रकममध्ये नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक, वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा इयरमार्क गर्नुपर्नेछ । यो नियमले बीमा क्षेत्रमा लगानीको पारदर्शिता र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

साथै, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा कुल लगानीको पाँच प्रतिशत सम्म लगानी गर्न पाइने व्यवस्था गरिएको छ । लगानी गरिने कम्पनी पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने शर्त तोकिएको छ । बीमा कम्पनीहरूले नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशतसम्म र घरजग्गा व्यवसायमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाइने निर्देशिका उल्लेख गरिएको छ। प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ गर्नुको उद्देश्य बीमकलाई सुरक्षित लगानी गर्न प्रोत्साहन गर्नु रहेको बताएको छ ।