राष्ट्र बैंकले जारी गर्यो एसआईपीएस फ्रेमवर्क, विद्युतीय भुक्तानीलाई व्यवस्थित गर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकल्ली इम्पोटेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) जारी गरेको छ । केन्द्रीय बैंकले पछिल्लो चरण बढिरहेको विद्युतीय भुक्तानीलाई व्यवस्थित गर्ने लक्ष्यसहित एसआईपीएस फ्रेमवर्क तयार गरेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि भुक्तानी प्रणाली सञ्चालकरूलाई प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचान गरिने उल्लेख छ । सोही व्यवस्था कार्यान्वयन गर्न केन्द्रीय बैंकले फ्रेमवर्क जारी गरेको हो । प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरू वित्तीय प्रणालीका अत्यावश्यक अवयवहरू भएको बताउँदै यसले ठूलो मूल्यका तथा संवेदनशील भुक्तानीहरू समावेश गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रणालीगत रुपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरुको पहिचान गरी त्यस्ता प्रणालीहरुको सञ्चालन एवं व्यवस्थापनलाई थप सुदृढ, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्य राखेको छ । केन्द्रीय बैंककाअनुसार यस फ्रेमवर्क जारी गर्नुको मुख्य उद्धेश्य प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको पहिचान र नामांकनका लागि स्पष्ट र समग्र मापदण्डहरू स्थापना गर्नु हो। यसले यस्ता प्रणालीहरूलाई उचित नियामक निगरानी र जोखिम व्यवस्थापन अभ्यासहरू अन्तर्गत ल्याएर वित्तीय प्रणालीमा प्रणालीगत अवरोधहरू हुन नदिन सुनिश्चित गर्नेछ ।