नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने, असोज २ देखि २२ सम्म आवेदन दिन सकिने


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बैंकले कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको आधारमा एक शेयर बराबर नयाँ एक शेयर (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत हकप्रद शेयर निष्काशन आगामी असोज २ गतेबाट खुला हुने र असोज २२ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। लगानीकर्ताले लिखित वा विद्युतीय माध्यम दुवै प्रयोग गरी आवेदन दिन सक्नेछन्। यस क्रममा सर्वसाधारणले ‘हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू’ अध्ययन गरी आफ्नै स्वविवेकमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

यस हकप्रद निष्काशनलाई लिएर क्रेडिट रेटिङ संस्था ईक्रा नेपाल लिमिटेडले बैंकलाई ‘सी प्लसु रेटिङ प्रदान गरेको छ। यो रेटिङले बैंकले समयमै वित्तीय दायित्व पूरा गर्ने विषयमा धेरै उच्च जोखिम रहेको संकेत गर्दछ। सो रेटिङ २०८१ साल फागुन १ मा प्रदान गरिएको हो र २०८२ साल फागुन २६ गतेसम्म मान्य रहनेछ। बैंकले हकप्रद शेयर निष्काशनमार्फत पुँजी संरचना सुदृढ गर्ने र कारोबार विस्तारमा उपयोग गर्ने लक्ष्य राखेको जनाएको छ।

तत्कालका लागि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ पूरा गरी तोकिएका क्षेत्रमा दुई नयाँ शाखा विस्तार गर्ने व्यवसायिक लक्ष्य निर्धारण गरेको छ। यस अनुसार, आर्थिक वर्ष ०८२/८३ का लागि १ लाख ६० हजार रुपैयाँ निक्षेप परिचालन लक्ष्य र १ लाख ४० हजार रुपैयाँ कर्जा लगानी लक्ष्य तोकिएको छ। दुवै वर्षमा कर्जा–निक्षेप अनुपात ८७.५० प्रतिशत रहने अनुमान गरिएको छ।