बैंकिङ्ग प्रणालीमा अधिक तरलता, ४५ अर्ब तान्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज भदौ ११ गते फेरि बैंकिङ्ग प्रणालीबाट ४५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

यो २५ दिने निक्षेप संकलन उपकरणको असोज ५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। भदौ लागेसँगै केन्द्रीय बैंकले चौथो पटक तरलता खिच्न लागेको हो । यसअगाडि केन्द्रीय बैंकले भदौ १ गते ६० अर्ब रुपैयाँ, ४ गते ३० अर्ब रुपैयाँ, ११ गते ५० अर्ब रुपैयाँ र ११ गते ४५ अर्ब रुपैयाँ तानेको थियो ।