काठमाडौं – नबिल बैंकको नेतृत्वमा लगानी स्रोत जुटेको लामो समयपछि १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढेको छ । आयोजना निर्माणका लागि सन् २०१७ मा नै ठेक्का खोलिएपनि सबैभन्दा निम्न प्रस्ताव गर्ने जेसीई/एएनकेसँग ठेक्का सम्झौता भएसँगै निर्माण प्रक्रिया अघि बढेको हो ।
कर्णाली प्रदेशको डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्धाण हुन लागेको अर्धजलाशय जलविद्युत आयोजना निर्माण गर्ने योजना बनेको लामो समय वितिसकेको छ । यही योजनाअनुसार गत वर्षको जेठमा नै विभिन्न बैंक तथा वित्तीय संस्थाले ‘फाइनान्सियल क्लोजर’ भइसकेको थियो ।
आयोजना निर्माणमा लाग्ने अनुमानित लागत २३ अर्ब रुपैयाँमध्ये नेतृत्वदायी लगानी नबिल बैंकले गर्नेछ । बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेगरी सम्झौता भइसकेको छ । यसबोहक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी (एचआईडीसीएल)ले ४ अर्ब, कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछ ।
२३ अर्ब रुपैयाँको अनुमानित लागतमध्ये १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ शेयरमार्फत जुटाउनेगरी गत वर्ष नै फाइनान्सियल क्लोजर भएको थियो । ठेक्का सम्झौता सम्पन्नपछि निर्माण थालेको ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि अर्धजलाशययुक्त आयोजनाबाट १०६ मेगावाट बिजुली उत्पादन हुनेछ ।
यो आयोजना निर्माणपछि कर्णाली प्रदेशको आर्थिक गतिविधि नै बढ्ने आँकलन गरिएको छ । यसाबहेक, नदी प्रवाहमा आधारित आयोजनाहरुको बाहुल्यता रहेको स्थितीमा यो आयोजनाको निर्माण सम्पन्नपछि अर्धजलाशययुक्त आयोजनाबाट उत्पादित बिजुलीको हिस्सा समेत बढ्नेछ ।



About Us
प्रतिक्रिया