गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ४३ अर्ब ९५ करोड


काठमाडाैं – गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब रुपैयाँको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। जसमा २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरेर उक्त व्यापार गरेका हुन । अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीहरुले २८ लाख ४९ हजार ९३४ वटा बीमालेख जारी गर्दै ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

कुनको कति ?
शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ । गत आर्थिक वर्षमा शिखर इन्स्योरेन्सले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ५ अर्ब ४७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ५.९२ प्रतिशतले बढेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । सिद्धार्थ प्रिमियर तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा वर्ष कम्पनीले ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

साथै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै बीमकको व्यापार बढेको छ।

त्यस्तै, गत आर्थिक वर्षमा युनाइटेड अजोडले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड ४८ लाख रुपैयाँ, सानिमा जीआईसीले २ अर्ब ७० करोड ३२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ ,राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ , नेसनल इन्स्योरेन्सले १ अर्ब ६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन।