बैंकिङ्ग प्रणालीमा अधिक तरलता, फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज साउन २१ गते फेरि बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकका अनुसार ३५ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट उक्त रकम खिच्न लागिएको हो।

निक्षेप संकलन उपकरणद्वारा तान्न लागिएको रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ २५ गते गरिनेछ।  यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। साउन लागेसँगै केन्द्रीय बैंकले यो छैटौँ पटक तरलता खिच्न लागेको हो ।