बैंकिङ्ग कसुर मुद्दाका फरार २ जना प्रतिवादी प्रहरीको फन्दामा 


काठमाडौं –  बैंकिङ्ग कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका– ६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका– १ घर भएकी ५१ वर्षीया दुर्गा देवी गुरूङ र काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका– १५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उच्च अदालत पाटनको २०७९ फागुन २३ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख रुपैयाँ जरिवाना, १ दिन कैद र क्षतिपूर्ति बापत शुल्क १२ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने सजाय ठहर भई फरार रहेकी दुर्गालाई काठमाडौं खहरेबाट बुधवार पक्राउ गरेको हो । 

साथै, सोही मुद्दामा फरार रहेका महमदलाई काठमाडौं कुलेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको  छ ।