कर्णाली विकास बैंकको घोटाला प्रकरण : कसले कति रकम गरे अपचलन ?


काठमाडौं – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा मुख्य अभियुक्त ७ जना पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनीहरुविरुद्ध १२ वर्ष सम्म कैद गर्न र उनीहरूको सम्पत्ति जफत गर्न माग गर्दै ३ अर्ब २० करोड रुपैयाँ बिगो दाबी गरेर मुद्दा दर्ता गरेको हो ।

यस प्रकरणको सुरुवात २०७० साल तिर बाट नै भएको पाइएको हो । सीआईबी लिएको बयानमा २०७० सालतिर बाट नै बैंकमा रकम अपचलन गर्न सुरु गरिएको बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायले बताउँछन् । राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत लिएर २०६० फागुन २२ गते राजेन्द्रवीर राय र पशुपति दयाल मिश्र लगायत १४ जना मिलेर नेपालगन्ज– १२, बाँकेमा कर्णाली विकास बैंकको स्थापना गरेका थिए । स्थापना गरेको १० वर्ष पछि नै उनीहरूले बैंकको रकममा आफ्नो व्यक्तिगत तवरले नै प्रयोग गर्न थालेका थिए ।

विकास बैंक स्थापनाका लागि २ करोड, ५ करोड चुक्ता पुँजी चाहिने थियो । पशुपती दयाल मिश्र, निरज विक्रम शाह, दिनेश कुमार रावत, दिपा थापाको लगानीमा यस बैंकको स्थापना गरिएको थियो । जसको चुक्ता पुँजी बढाउन सञ्चालक समिति बसेको थियो तर यसमा लगानी गर्न उक्त समयमा कोही मानेका थिएन साथै, अन्य कसले पनि राष्ट्र बैंकको स्वीकृति बिना नियमानुसार शेयर लिन नमिल्ने भएकाले गर्दा अन्य कुनै धितो राखी कर्जा लगानी गर्न सहयोग गर्न अनुरोध गर्दा कसैबाट त्यस किसिमको सहयोग गर्न सक्ने इच्छा नराखे पछि बैंकको अवस्थालाई ध्यानमा राखी बैंकबाट गोप्य रूपमा रकम चलाउन थालिएको उनले बताए ।

त्यस पश्चात् रायलगायत अन्य सञ्चालक समितिका व्यक्तिहरूले ठुलो रकमको आवश्यकता पर्दा तथ घरजग्गामा लगानी गर्दा बैंकबाट लगी चलाउने गरेको र सो रकम फिर्ता नगरेको कारण बैंकमा रकम अभाव हुन गएको थियो । सो अपचलन गरिएको रकमको हरहिसाब गोप्य रूपमा निरज विक्रम शाह, वेद प्रकाश सिंह ठकुरी लगायत सबैले राख्ने भन्ने सल्लाह भएको थियो ।

राजेन्द्र वीर रायले ३२ करोड, पशुपती दयाल मिश्रले १५ करोड, निरज विक्रम शाहले १५ करोड, दिनेश कुमार रावतले १५ करोड,बेद प्रकाश सिंह ठकुरीले १५ करोड, सुशिल कुमार सार्की ९नेपाली० ले दुई करोड गरी ९४ करोड अपचलन गरेका रायले दिएको बयानमा उलेख्य गरिएको छ ।

कर्णाली विकास बैंकबाट हिल्सा इन्भेष्टमेण्ट प्रा.लिलाई प्रवाह भएको १५ करोड मध्ये रायले १२ करोड चलाएका थिए । दिनेश कुमार रावत र निरज विक्रम शाहले बाँकी ३ करोड अपचलन गरेका हुन् । राप्ती पोलिमर्स प्रा.लिलाई प्रवाह भएको १५ करोड मध्ये १२ करोड पनि रायले नै अपचलन गरेको थिए भने ३ करोड रुपैया दिनेश कुमार रावत र रायको भिनाजु नाताको महेशजंग थापाले अपचलन गरेका थिए ।

साथै, वेचनलाल भुजुवाको नाममा प्रवाह भएको कर्जा ८० लाख रायले नै चलाएका थिए । बाँके केमिकल्स प्रालिलाई १५ करोड कर्जा प्रवाह गरेकोमा दिनेश कुमार रावतले ८ करोड र रायले ७ करोड अपचलन गरेका थिए । उक्त कम्पनी १५ करोडमा तिलक बि।क। र उनका समूहलाई बिक्री गरेकोमा दिनेश कुमार रावतको मिलेमतोमा ११ करोड ५० लाख मात्र कर्णाली बैंकमा तिरी बाँकी रकम ३ करोड ५० लाख तिलक विकले चलाएका हुन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाह र महादेव भन्ने वेद प्रकाश सिंह ठकुरीले बैंकको अन्य बैंकमा रहेको मौज्दात भन्दा बढी रकम उल्लेख गरी बैंकको लेजरमा लेखेका थिए ।

राय प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात् निरज विक्रम शाहले १२ करोड, दिनेश कुमार रावतले १० करोड, ठकुरीले ५ करोड, ओम प्रकाश मिश्रले ५ करोड, मान बहादुर चौधरीले २ करोड अपचलन गरेका हुन् । बैंकको अन्य बैंकमा रहेको खाताहरूबाट रकम निकाली सो रकम बैंकमा नल्याई व्यक्तिगत रूपमा प्रयोग गर्ने र सिष्टममा सो रकम अभिलेख नगर्ने, भल्टबाट निकालिएको पैसा नगदै लिने, अन्य बैंक खाताहरूमा जम्मा गर्न लगिएको रकम जम्मा नगरी आफूलाई चाहिएको बखत चलाउने तर बैंकको सिष्टममा रकम जम्मा गरिएको भनी जनाउने, बैंकको हरहिसाब राख्ने काम लेखा शाखाका वेद प्रकाश सिंह ठकुरीले गर्ने गरेका थिए भनी सोको भेरिफिकेसन गर्ने काम तात्कालिन लेखा विभाग प्रमुख निरज विक्रम शाहले गर्ने गरेका थिए ।