रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा अघि बढ्यो राष्ट्र बैंक, नवप्रवर्द्धनमा जोड नै प्रमुख उद्धेश्य


काठमाडौं – नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सञ्चालन प्रक्रिया अघि बढाउने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सरोकारवाला निकायहरुसँग राय सुझाव समेत माग गरेको हो ।

केन्द्रीय बैंकले आवेदक भन्नाले रेगुलेटरी स्यान्डबक्समा सहभागी हुने इच्छुक पक्षलाई जनाउँछ जसले आवेदन फारम बुझाएर आफ्नो रुचि देखाएको हुने र आवेदकले अनुमति प्राप्त तथा नियमनमा रहेका वित्तीय संस्था वा फिनटेक कम्पनी वा ती दुबैको सहकार्यमा आवेदन दिन सक्ने बताएको छ । केन्द्रीय बैंकले फिनटेक भन्नाले वित्तीय प्रविधि वा वित्तीय उत्पादन तथा सेवाहरूको प्रदानमा प्रयोग हुने प्रविधिगत नवीनतालाई जनाउँने बताएको छ ।

राष्ट्र बैंककाअनुसार फिनटेक कम्पनी भन्नाले नियमनमा नरहेको यस्तो कम्पनीलाई जनाउँछ जसले प्रविधिको प्रयोग गरी वित्तीय सेवाहरू र उत्पादनहरूको पहुँच र आपूर्तिमा उल्लेखनीय सुधार ल्याउने नवप्रवर्तनशील मोडेल, अनुप्रयोग, प्रक्रिया वा उत्पादनहरू सिर्जना गर्छ। सहभागी भनेर राष्ट्र बैंकद्वारा रेगुलेटरी स्यान्डबक्समा सहभागी हुन अनुमति प्राप्त संस्था जनाउँछ।

कोहोर्ट भन्नाले बैंकद्वारा आरम्भ गरिएको एक संरचित स्यान्डबक्स चक्रलाई जनाउँछ । जुन विशिष्ट नवप्रवर्तन विषयमा आधारित हुन्छ र जसमा चयनित सहभागीहरूलाई आफ्नो वित्तीय उत्पादन, सेवा वा समाधान परीक्षण गर्न अनुमति दिइन्छ। बैंकले वार्षिक रूपमा सीमित संख्यामा कोहोर्टहरूको लागि आवेदन आह्वान गर्न सक्नेछ, जसमा पूर्वनिर्धारित योग्यताहरू, कार्यक्षेत्र तथा समयसीमाहरू हुनेछन् ।

प्रविधिको तीव्र प्रसार, इन्टरनेट जडानको पहुँचमा भएको विस्तार, देशव्यापी रूपमा स्मार्टफोनको अपनत्व र इन्टरनेट जडानको लागतमा भएको गिरावटले नवप्रवर्तनशील वित्तीय उत्पादन, सेवा र समाधानहरू प्रदान गर्न इच्छुक फिनटेक स्टार्टअपहरूका लागि अवसरहरू सिर्जना गरेका छन्। यस सन्दर्भमा राष्ट्र बैंकले वित्तीय सेवा क्षेत्रभित्र नवप्रवर्तनलाई प्रोत्साहन गर्न नयाँ र नवप्रवर्तनशील उत्पादन तथा प्रविधिहरूको नियन्त्रित परीक्षणलाई सहज बनाउँदै जिम्मेवार नवप्रवर्तनलाई प्रवर्द्धन गर्न र वित्तीय समावेशीताका प्रयासहरूलाई अझ गहिरो बनाउन पहल गरेको छ।

यस प्रक्रियाको एक अंशको रुपमा राष्ट्र बैंकले नवप्रवर्तनशील समाधानहरूको विकास र कार्यान्वयनका लागि अनुकूल नियामक वातावरण प्रदान गर्न रेगुलेटरी स्यान्डबक्स स्थापना गर्ने भएको छ । रेगुलेटरी स्यान्डबक्स एक नियन्त्रित र सुपरिवेक्षित परीक्षण वातावरण हो । जसले सहभागी संस्थाहरूलाई आफ्नो उत्पादन, सेवा वा समाधानहरू यी निर्देशनहरू अन्तर्गत निर्धारित आवश्यकताहरूभित्र परीक्षण गर्न सक्षम बनाउँछ र व्यवसायिक रूपमा प्रारम्भ गर्नु अघि नयाँ तथा उदाउँदै गरेका वित्तीय नवप्रवर्तनहरूको प्रमाणाधारित र नतिजा आधारित मूल्याङ्कनलाई प्रवर्द्धन गर्दछ।

यस्तो छ रेगुलेटरी स्यान्डबक्सको उद्देश्य

रेगुलेटरी स्यान्डबक्सको उद्देश्य निजी क्षेत्र र राष्ट्र बैंकबीच खुला र पारदर्शी संवादलाई प्रवर्द्धन गर्नु हो। यस्तै, डिजिटल वित्तीय सेवाहरूको पहुँच, प्रयोग र गुणस्तर सुधार गर्न सुरक्षित र जिम्मेवार वित्तीय नवप्रवर्तनलाई प्रवर्द्धन गर्नु, उपभोक्ता र वित्तीय सेवा क्षेत्रको सुरक्षामा सम्झौता नगरी फिनटेक नवप्रवर्तनहरूलाई प्रत्यक्ष वातावरणमा परीक्षण गर्न सक्षम बनाउनु, परम्परागत वित्तीय सेवा प्रदायकहरू र फिनटेकबीच सहकार्य प्रोत्साहन गर्नु, उपभोक्ताको संरक्षण सुनिश्चित गर्दै वित्तीय क्षेत्रभित्र प्रतिस्पर्धा र कार्यकुशलता प्रवर्द्धन गर्नु, वित्तीय क्षेत्रमा देखिने नयाँ प्रविधिहरूको निगरानी गरी जोखिम व्यवस्थापन र असफलताको सम्भावित असरहरू नियन्त्रण गर्न आवश्यक सुरक्षाका उपायहरू सुनिश्चित गर्नु, वित्तीय सेवाहरूमा प्रयोग हुने नयाँ प्रविधिहरूमा नियामकीय छलफलको माध्यम प्रदान गर्नु, वित्तीय क्षेत्रको नियमन र नीतिनिर्माणमा सूचना प्रदान गर्नु रेगुलेटरी स्यान्डबक्सको मुख्य उदेश्य हो ।

नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सञ्चालनका लागी पहिले परिक्षण गराउँछ । सो क्रममा केन्द्रीय बैंकको नीति विपरित काम गर्ने जुन कम्पनीलाई पनि अस्विकार गर्न सक्छ । ग्राहकलाई उल्लेखनीय हानि पुर्‍याएको, सर्तहरू उल्लंघन गरेको, सुरक्षात्मक उपायहरू कार्यान्वयन गर्न असफल भएको, भ्रामक जानकारी दिएको,स्वेच्छाले सेवा बन्द गरेको आदि समयमा अस्विकार गर्न सक्छ ।

केन्द्रीय बैंकले स्यान्डबक्समा सहभागी हुन चाहने संस्थाले नयाँ वा प्रविधिको नवीन प्रयोग गरेको हुनुपर्ने, वित्तीय समावेशीकरणमा योगदान, लाइभ परीक्षण आवश्यक हुनुको कारण, परीक्षणको तयारी र जोखिम न्यूनीकरणको योजना लगायतका मापदण्डहरू पूरा गर्नुपर्ने उल्लेख गरेको छ ।