कर्णाली विकास बैंक घोटाला प्रकरण : ३ अर्ब २० करोड अपचलनमा १०९ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौं – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा १०९ जनाविरुद्ध दर्ता दायर गरिएको छ । बाँकेको नेपालगन्जमा मुख्य कार्यालय रहेको कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको निष्कर्षसहित १ सय ९ जनाविरुद्ध मुद्दा दर्ता भएको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका सूचना अधिकारी बल बहादुर विष्टले बताएका छन्।

उनकाअनुसार मुख्य अभियुक्त भने ७ जना रहेको उनले बताए । जिल्ला सरकारी वकिल कार्यालय बाँकेले १ सय ९ जनालाई प्रतिवादी बनाउँदै हिजो उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा १ सय ९ जनालाई प्रतिवादी बनाएर ३ अर्ब २० करोड ११ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दर्ता गरिएको हो ।

सीआइबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतसहित चार जनालाई पक्राउ गरी सकेको छ भने बाँकी प्रतिवादी फरार रहेका छन् ।