२९ अर्ब रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकले २९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको बैंक, वित्त व्यवस्थापन विभागले आफ्ना विभिन्न कोषहरूमा रहेको कुल २९ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपको रूपमा लगानी गर्न आह्वान गरेको हो ।

यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट ३६६ दिन अवधिको मुद्दती निक्षेप प्रस्ताव माग गरिएको हो। बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि २३ अर्ब ४० करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूका लागि ४ अर्ब ३८ करोड ७० लाख रुपैयाँ, ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि १ अर्ब ४६ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको हो । आगामी साउन १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको, न्यूनतम पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा कर्जा सापटीको ८ प्रतिशत भन्दा कम भएको, तरल सम्पत्ति खुद निक्षेपमा कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी भएको लगायतका सर्तहरू तोकिएको छ ।