काेशी प्रदेश

निजी ऊर्जा उत्पादकका लागि अर्को सफलता, राष्ट्रिय प्रशारणमा थपियो तल्लो सोलुको ८२ मेगावाट


विराटनगर – सोलुखुम्बुको सोलु खोला बेसिनमा निर्मित तल्लो सोलु हाइड्रो पावरले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गर्दै निजी ऊर्जा उत्पादकहरूले निर्माण गरेको मुलुककै दोस्रो ठुलो जलविद्युत आयोजनाको स्थान कायम गरेको छ । परीक्षण उत्पादन सुरु भएसँगै राष्ट्रिय ग्रिडमा तल्लो सोलुको ८२ मेगावाट विद्युत् थपिएको छ । सोलु हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजनामा जडित ४१ मेगावाट क्षमताका दुईवटा टर्बाइनबाट मंगलबारदेखि विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोडिएको हो ।

२०८२ असार २३ गते राती आएको ल्हेन्दे खोला र भोटेकोसीको बाढीले १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोसहित १० वटा जलविद्युत आयोजनामा क्षति पुग्दा नेपाल विद्युत प्राधिकरणले २५० मेगावाट विद्युत् गुमाउनु परेको थियो । यही बेला तल्लो सोलुले परीक्षण उत्पादन गरेको ८२ मेगावाट विद्युत सोलु करिडोरमार्फत राष्ट्रिय प्रशारणमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूको उपस्थितिमा १५ दिनसम्म परीक्षण उत्पादन गरिने जनाइएको छ । आयोजनाका अनुसार कुनै बाधा अवरोध नआए आगामी अगस्टको पहिलो साताभित्रै व्यावसायिक उत्पादन हुनेछ ।

आयोजनाको सम्पूर्ण संरचनाको निर्माण सम्पन्न भएपश्चात परीक्षणको सवै काम सम्पन्न भएर दुईवटै टर्बाइनबाट विद्युत उत्पादन सुरु भएको तल्लो सोलु हाइड्रोपावरका आयोजना प्रमुख श्रीधर खनालले जानकारी दिए । उनले दुवै युनिटबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणको ग्रिडमा जोडिएको बताए । ‘पहिलो युनिटबाट आइतबारदेखि परीक्षण उत्पादन भएको थियो, मंगलबारदेखि दुवै युनिटबाट विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा पठाइएको छ’ आयोजना प्रमुख खनालले भने, ‘आयोजनाको दुवै युनिटको छुट्टाछुट्टै परीक्षण सफल भएको छ, अहिले एकैचोटी दुवै युनिटबाट विद्युत उत्पादन गरेर १५ दिन परीक्षण हुनेछ, त्यसपछि व्यवसायिक उत्पादनको घोषणा हुनेछ ।’ 

परीक्षण उत्पादनको समयमा जलविद्युत आयोजनाले प्राधिकरणलाई १५ दिनसम्म सित्तैमा विद्युत दिनुपर्ने व्यवस्था रहेको छ ।तल्लो सोलु जलविद्युत आयोजनाको हेडवक्र्स (बाँध) सोलुदुधकुण्ड नगरपालिका–७ साल्मेमा अवस्थित छ । त्यहाँबाट ४ दशमलव २ किलोमिटर सुरुङ मार्ग र २ किलोमिटर लामो भूमिगत पाइपलाइनमार्फत वडा नम्बर ११ स्थित भदौरेमा रहेको विद्युत् गृहमा पानी झारेर विद्युत् उत्पादन गरिएको हो । करीव १७ अर्ब रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । 

आयोजना निर्माणका क्रममा पहिरोले सतही भल्भहाउस र सतही पेनस्टोकमा क्षति पुर्‍याउँदा भुमिगत रुपमा भल्वहाउस र दुई किलोमिटर लामो भूमिगत पेनस्टोक निर्माण गर्नु परेको आयोजना प्रमुख खनालले बताए । सोही क्रममा कोभिड महामारी लगायतका कारणले आयोजनाको निर्माण सम्पन्न हुन केहि ढिलाई हुँदा २०२५ को सेप्टेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो । लक्ष्यको दुई महिना अघि नै आयोजना सम्पन्न भएर परीक्षण उत्पादन सुरु गरिएको जनाइएको छ ।तल्लो सोलुबाट बर्षायाममा ८२ मेगावाटकै जडित क्षमतामा विद्युत उत्पादन गर्ने तल्लो सोलुबाट हिउँद याममा भने २३ मेगावाट विद्युत उत्पादन हुनेछ । पावर हाउसबाट तिङ्ला सवस्टेशनसम्मको नवनिर्मित ४ दशमलव १२ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रशारण लाइन समेत ‘चार्ज’ भएको जनाइएको छ । 

तल्लो सोलु जलविद्युत आयोजनामा नेदरल्याण्डस् डेभलपमेन्ट बैंक र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट बैंकमार्फत वित्तीय स्रोत सुनिश्चित गरिएको हो । सरकारले यो आयोजना ‘सुपर सिक्स’ मा राखेर प्रतिष्पर्धामार्फत लगानीकर्ता छनौट गरी निर्माणको अनुमति दिएको थियो । यो आयोजना स्थलभन्दा तल निजी ऊर्जा उत्पादककै प्रयासमा निर्मित मुलुककै सवैभन्दा ठुलो ८६ मेगावाट क्षमताको सोलु दूधकोसी हाइड्रोपावरले समेत व्यवसायिक उत्पादन गरिरहेको छ । दुवै ठुला आयोजना ‘रन अफ रिभर’ मा आधारित छन् । सोलु खोलामा ५ देखि ८६ मेगावाटसम्मका विद्युत आयोजना रहेकोमा अन्य आयोजना समेत निर्माण सम्पन्न हुने चरणमा गइरहेको जनाइएको छ ।